Saturday, August 05, 2023

वासुदेव त्रिपाठी र वीरपुर्खा कविता


     लेखक परिचय

नामः प्रा. डा. वासुदेव त्रिपाठी

जन्मस्थानः गण्डकी अञ्‍चल, तनहुँ जिल्‍ला, भानु नगरपालिका, वडा नं. १. भानुनगर ।।

जन्ममितिः वि. स. साल चैत्र १३ गते ।

मातापिताः माता गोमा त्रिपाठी र पिता प्रेमदत्त त्रिपाठी

शिक्षाः एम. ए. (नेपाली र अङग्रेजी विषयमा ), पि. एच. डी । नेपाली विषयमा पहिलो विद्यावारिधि ।    

सेवाः प्राध्यापन, नेपाली केन्द्रीय विभाग, त्रि. वि. कीर्तिपुर

प्राज्ञिक पद: उपकुलपति : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान -आजीवन सदस्य

लेखन तथा अनुसन्धानः नेपाली काव्य गीत निबन्ध बालसाहित्य, नेपाली साहित्य सिद्धान्त र समालोचना, यो दुनिया तिम्रै हो,पहिलो कविता. २०१० सालमा हिमाल पत्रिकामा प्रकाशित ।

प्रमुख कतिहरूः १. तीन घडा (काव्‍य सङग्रह) २०४५, २. देशको महिमा  (खण्डकाव्य)  २०४६ ३. नव पल्‍लव (गीत सङ्ग्रह) २०४६. ४. सम्झना कुञ्‍ज(कविता,कान्य र गीतिको सग्रह) २०६६ ५. जीवन निकुञ्‍ज (कविता. कान्य र गीतिको सङ्ग्रह) २०६७. ६. रचना कुञ्‍ज कविता, कान्य र गीतिको सङ्ग्रह, भाग : १ र २) २०६८, ६९ ७. मधुकुञ्‍ज कविता, काव्‍य सङ्ग्रह) २०००. का साथै थुप्रै समालोचनात्मक कृति एवं सम्पादन कार्य ।

प्रमुख पुरस्कारः महेन्द्र विद्याभूषण, मदन पुरस्कार गोरखा दक्षिणबाहु लारी स्वर्ण पदक, रत्नश्री पुरस्कार

प्रवृति : नेपाली समालोचनाका सम्राट, देशभक्त कवि, मानवतावादी, प्रकृतिप्रेमी, भाषा एवं संस्कृतिप्रेमी अथकसाधक

वीर पुर्खा' कविताको मूल भाव

' वीर पुर्खा ' कविता हाम्रो देशका महान् देशभक्त सपूतहरूलाई सम्बोधन गर्दै वीरहरूको त्याग, तपस्या र बलिदानको  यशोगान गाइएको वीर रस प्रधान झ्‍याउरे लय (४+४+४+४=१६अक्षर) मा संरचित उत्कृष्‍ट कविता हो । कविको देशभक्ति भावनालाई छताछुल्‍ल रुपमा पोखिएको यस कवितामा आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्‍जलि दिएर राष्ट्र र राष्ट्रियतालाई प्राणभन्दा प्यारो ठानी देश र जनताको भलाइका लागि प्राण उत्सर्ग गर्ने ती महन् देशभक्त वीर पुर्खाहरूकै योगदानले नै नेपाल विश्वमानचित्रमा स्वतन्त्र, स्वाधीन, अखण्ड, सार्वभौम सत्ता सम्पन्‍न राष्‍ट्र बन्‍न सकेको ऐतिहासिक तथ्यलाई मार्मिक रुपमा चित्रण गरिएको पाइन्छ । ऐतिहासिक कालखण्डमा बाइसे चौबिसे राज्य रजौटाहरूमा विभाजित हाम्रो देश नेपाललाई एकताको मालामा उनी सिङ्गो अखण्ड सुन्दर शान्त विशाल राष्‍ट्र नेपालको एकीकरण गरी राष्‍ट्रिय स्वाधीनतालाई मजबुत बनाउने नेपाल आमाका देशभक्त सपूत शूरवीर विश्वविजेता बहादुर वीर गोर्खाली नेपाली पुर्खाहरूको वीरताको गाथालाई मर्मस्पर्शी रुपमा सुन्दर चित्रण गरिएको छ । नेपाल पुर्खाको रगत, पसिना, त्याग, तपस्या र बलिदानले आर्जेको मुलुक हो । हाम्रो देश पुर्खाको त्याग र बलिदानको आधारस्तम्भ हो, जसलाई सबै नेपाली मिली समृद्ध महल बनाई सजाउनुपर्छ, पुर्खाले देखाएको राष्‍ट्रिय मार्ग अवलम्बन गर्नुपर्छ, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्‍ने उक्तिलाई मनन गर्नुपर्छ, भन्‍ने भाव समेटिएको छ, यस कवितामा । नेपाली मानस्पटलमा सुषुप्‍त अवस्थामा रहेको देशभक्ति भावना उजागर गरी वीरताको भावना एवम् राष्ट्रिय चेतना जगाउने प्रयास गर्नु नै यस कविताको मूल भाव हो ।

भाव विस्तार

कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र

वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र

गरुडको झै वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो

पौरखले रच्यो नेपाल ! पहाड तराई जुट्न सक्यो ।

वीर पुर्खा कवितामा विश्वमा नेपाललाई वीर गोर्खाली लडाकुको देश भनेर चिनाउने नेपाल आमाका महान् देशभक्त सपूतहरूको त्याग, तपस्या र बलिदानको यशोगान गाइएको छ । नेपाली वीर वीराङ्‍गनाहरूको वीरताको मुक्त कण्ठले राष्‍ट्रिय स्तरमा उच्च प्रशंसा गरिएको छ ।। ऐतिहासिक काल खण्डमा बाइसे चौबिसे राज्य रजौटाहरूमा विभक्त नेपाललाई एकताको मालामा उनी सुन्दर, शान्त र विशाल राष्‍ट्र नेपालका निर्माता नेपाली वीर पखाहरूको गौरवगाथा गाइएको यस कवितामा वीर पुर्खाहरूले वैदेशिक हस्तक्षेपका विरुद्ध ज्यानको बाजी थापी राष्‍ट्र र राष्‍ट्रियतालाई प्राणभन्दा प्यारो ठानी देखाएको शूरता र वीरताको गाथालाई मुक्त कण्ठले गुणगान गाइएको छ । राष्‍ट्रिय एकताका प्रतीक  पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु गरेपछि सीमा विस्तार गरी विशाल नेपालको निर्माणका क्रममा पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म नेपालको राष्‍ट्रिय ध्वजा गाडेका थिए । नालापानीको खलामा नेपाल र अङ्ग्रेजबीचमा युद्ध हुँदा विश्वप्रशंसित वीर पुर्खा अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुवँर आदिले देखाएको अदम्य साहस एवं बहादुरीपन इतिहासको स्वर्णीम पानामा चम्किला अक्षरले सजिएको छ । वीर पुर्खाहरूले दुस्मनको किल्‍लामा आक्रमण गर्दा बैरीसामु लड्दा भिड्दा देखाएको अदम्य साहसलाई , त्यो तुफानी गतिलाई विश्वको कुनै पनि तागतले रोक्न छेक्न सकेन । वीर पुर्खाको तुफानी गतिलाई कुनै पनि पहाडले वा खोलाले छेक्न सकेन न त कनै आँधीले नै रोक्न सक्यो । वीर पुर्खाको अदम्य साहसका अगाडि विश्वको कुनै पनि तागत टिक्न सकेन, गोर्खाली वीरको सामु घुडा टेक्यो । हावामा कावा खाने गरुडको जस्तो उड्न सक्ने गति भएका शूर वीर , बहादुर गोर्खालीको वेगलाई कुनै पनि आकाशको तागतले वा विश्वको शक्तिले नियन्त्रण गर्न सकेन । वीर पुर्खाहरूले अदम्य साहस र पौरखले नै पूर्व टिस्टादेखि पश्चिम काँगडासम्म अनि हिमाल, पहाड र तराईलाई समेटेर सुन्दर, शान्त विशाल राष्‍ट्र नेपाल रच्न सफल भएका थिए भन्‍ने कविको विचार प्रकट भएको छ ।।

पूर्व टिस्टा तिमीलाई सम्झी अझै रुन्छ होला

पश्चिम राबी तिम्रो अझै रक्त धारा धुन्छ होला

काँगडा र कलङ्‍गाको दुगा माटो बोल्छ होला

बीर पुर्खा  तिम्रो गीत गङ्‍गाभरि गुँज्छ होला ।

नेपालको स्वर्णीम इतिहासका महान् स्रष्‍टा हाम्रा शूरवीर पुर्खाहरू राज्यको सीमा विस्तार गरी विशाल राष्‍ट्र नेपालको सिर्जना गर्ने क्रममा पूर्वमा टिस्टासम्म पुगेर विजयको ध्वजा फहराएका थिए । पृथ्वीनारायण शाहबाट थालिएको नेपाल एकीकरण अभियानसँगै नेपालको सीमा विस्तार गर्ने क्रममा वीर पर्खाहरूले टिस्टालाई नेपाली भूमिमा गाभेका थिए तथापि बाध्य भई वि. स. १८७२ मा नेपाल र अङग्रेजबीचमा सुगौली सन्धि भएपछि नेपालले लगभग एकतिहाई भूभाग गुमाउनु परेको थियो । त्यही ऐतिहासिक स्मृतिलाई झलझली आँखामा सजाउँदै आफुलाई नेपालबाट अलग भएर बस्नुपरेकोमा पीडा बोध गर्दै टिस्टा वीर गोर्खालीहरूलाई सम्झीसम्झी रुन्छ होला । टिस्टाले नेपाली भूमिका रुपमा गौरवबोध गर्न नपाएकोमा गोर्खालीलाई सम्झेर बिलौना गरिरहेको होला । आजसम्म पनि गोखोलीकै राज्य बन्‍ने अभिलाषा राखेर रुदै पर्खेको होला । राज्य विस्तार गर्ने क्रममा युद्धरत अवस्थामा पश्चिम किल्‍ला काँगडामा दुस्मनसँगको भिडन्तमा नेपाली वीरहरू घाइते भएर रक्त धारा बगाउँदा घाई बनी राबी नदीले रक्तधारा धोएको थियो । अहिले पनि राबी नदीले पूर्वस्मृतिलाई मानस्पटलमा सजाइरहेको होला , तिम्रो रक्तधारा घोहरहेको होला । पश्चिम किल्‍ला काँगडा र कलङ्‍गा (खलङ्‍गा) मा वीर गोर्खालीहरूले देखाएको शुरता, वीरता, अदम्य साहस एवं बहादुरीको बखान गरिरहन्छ होला । त्यहाँका बुढा र माटोमा पनि गोर्खालीको अमिट छाप परेकाले त्यहाँको वातावरणले वीर पुर्खाको गौरवगान गाइरहेको होला । हिमाललाई मुहान बनाएर सुसाउँदै बग्‍ने गङ्‍गा नदीले वीर पुर्खाहरूकै यशोगान गुञ्‍जाइरहेका छन् होला । राबी अनि गङ्‍गा नदी लगायत त्यहाँको वातावरण र परिवेशले वीर गोर्खाली सपूतहरूलाई सम्झिरहेका छन् अनि वीरताको गौरवगान गाजरहेका छन्  होला भन्‍ने भाव प्रस्तुत पद्यांशमा पाइन्छ ।

डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला

वेत्रावती किनारभरि पौरखको चिनो होला

वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो

सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहबाट थालिएको नेपाल राज्यको सीमा विस्तार गर्ने अभियान पृथ्वीनारायण शाहको अन्त्यपछि पनि निरन्तर रुपमा अगाडि बढिरहेको थियो । पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको नेपालको सीमा अझै विस्तार गर्ने क्रममा नेपाल र अङ्ग्रेज बीचमा युद्ध हुँदा अदम्य साहस र बहादुरीका साथ लडेका वीर पुर्खाहरू बाध्य भई वि. सं १८७२ सालमा सुगौली सन्धि भई एक तिहाई भुभाग गुमाएर आहत हुन पुगेका थिए । नेपालीको स्वाभीमानमा ठलो चोट पुगेको थियो । त्यसै गरी वि.सं. १८७२ तिर नेपाली वीर पुर्खाहरू उत्तरतिर भोटतिब्बती क्षेत्रमा घमासान युद्ध लडेको थियो । नेपालको सीमा विस्तार गर्ने क्रममा वीर पुर्खाहरू तिब्बतको डिगर्चासम्म पुगेर बहादुरीका साथ लडी विजय हासिल गरेका थिए । नेपालीले विजय हासिल गरेको डिगर्चामा अहिलेसम्म पनि पौरखी पुर्खाहरूको पाइलाको ढोव चिसो हिउँभित्र हुन सक्छ । वीर पुर्खाहरू बेत्रावती नदीको किनारैकिनार गएर तिब्बतसँग युद्ध गरी विजय हासिल गरेकाले बेत्रावती नदीमा गोखोली वीरहरूको चिनो अझै रहिरहेको हुन सक्छ भनी वीर पुर्खाको गौरवगान गाउँछन । अदम्य साहस भएका वीर गोर्खालीहरूलाई ऐतिहासिक कालखण्डमा कतै पनि विश्वको तागतले परास्त गर्न नसकेको तर सन्धि र सम्झौता गरी मित्रताको बन्धनले बाँधी सम्झौता बमोजिम जितेको भूमि फिर्ता गर्नु परेको थियो जुन हार भने कदापि होइन, यदि लडाई नै भएको भए पनि गोखलीले पराजय कदापि भोग्‍नुपर्ने थिएन भनी कविले सुगौली सन्धिको सङकेत गरेका छन् । सुगौली सन्धिकै मर्मअनुसार नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती हुने गरेको र बेलायत सरकारले खटाएअनुसार विभिन्‍न देशमा गएर बहादुरी प्रदर्शन गरिरहेका छन् । समुद्र तरेर संसारभरि वीर गोखालीको  अदम्य साहस र बहादुरी प्रदर्शन गरी रगत र पसिना बगाई विश्वभर गोखालीको सान बढाएका छन् । प्रथम र दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी प्रदर्शन गरी भिक्टोरिया क्रस जस्तो बेलायतकै सबैभन्दा ठूलो उच्च सम्मान प्राप्‍त गरेका थिए ।

 

नाका थुनी नेपालीलाई कसले छेक्न सकेथ्यो र

हिमालको हिमनदी कसले रोक्न सकेथ्यो र

वीर पुर्खा ! तिमै रगत नेपालीका नसाभरि

उही गीत उही गौरव चन्द्रसूर्य ध्वजाभरि ।।।

ऐतिहासिक कालखण्डमा नेपालमाथि पटकपटक वैदेशिक हस्तक्षेप भएको पाइन्छ तथापि मातृभूमिलाई प्राणभन्दा प्यारो ठान्‍ने वीर गोर्खाली  देशभक्त, स्वाभिमानी नेपालीहरूले शत्रुलाई घुडा टेकाएकै गौरवशाली स्वर्णीम इतिहास नेपालीको मन मस्तिष्कमा ताजा नै छ । वि. सं. १८७२ को सुगौली सन्धि हुनपूर्व नेपालको पश्चिम सिमाना नालापानीको खलङ्‍गाको किल्‍लामा वि. स. १८०१ मा बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा जस्ता महाबलीलगायतका वीर पुर्खाहरूले घमासान युद्ध लडेका थिए । तीन हजार भन्दा बढी आधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेज फौजसँग भाला,खुकुरी, धनुकाँड जस्ता घरेलु हतियार र ढुङ्‍गामुडाको भरमा युद्ध लड्दा आधा नेपाली मारिएर ३०० को सङ्ख्यामा हुँदा पनि पानी पनि नखाई अदम्य साहसका साथ लडी वीरता प्रदर्शन गरेका थिए । अङ्ग्रेज सेनालाई पटकपटक परास्त गरेका थिए, मेजर जनरल जिलेप्सीलाई समेत मारेका थिए । बलभद्र र अमरसिंहलाई लोभलालच देखाउँदा अमरसिंहले म बाघको बच्चा डमरु हैन सिनो खाने कुत्ता होइन भनेका थिए जुन कुराले नेपालीको छाती गौरवले फुल्दछ । कसैगरे पनि नेपालीलाई जित्न नसकेपछि अङ्ग्रेजले पानीको मुहान अनि नाका थुनेर तड्पाएका थिए । अङ्ग्रेजले त्यो हर्कत गर्दा पनि वीर पुर्खाले आत्मसमर्पण गरेनन् । स्वेच्छाले त्यो ठाऊँ छाडी मुहानमा गएर पानी पिएका थिए । षड्‍यन्त्रको जालमा परी त्यो ठाँउ छाडेको तर आत्मसमर्पण गरी हार नखाएको स्वाभीमान प्रकट गरे । हिमालको हिमनदी जस्तै तुफानी वेग वा गति भएका हाम्रा वीर पुर्खाहरूको पाइलालाई कुनै पनि तागतले रोक्न, छेक्न सकेको थिएन । रोक्ने कुचेष्‍टा गरेपनि त्यो वैरीको दिवा सपना जस्तै मुर्खता बन्यो । वीर गोर्खालीका सन्तती हामी नेपालीका नसानसामा पुर्खाको रगत बगिरहेको छ। पुर्खाको शूरता र वीरत्वपन हामीमा पनि सल्बलाइरहेको छ । पुर्खाकै गौरवगाथा मनन गरी पुर्खाको यशोगान गाउँदै चन्द्रसूर्य राष्‍ट्रिय ध्वजा बोकेर अहिले पनि हामी नेपालीहरू राष्‍ट्र र राष्‍ट्रियतालाई आत्मसात् गर्दै राष्‍ट्रिय गौरवगान गाइरहेका छौ भन्दै वीर पुर्खाको यशोगान गाइएको छ । 

Share:

Tuesday, July 25, 2023

कक्षा -१० पाठ-५ लक्ष्‍मीप्रसाद देवकोटाको जीवनी, सम्‍पुर्ण अभ्‍यासहरू



                                                             शब्दभण्डार

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

उत्तर:

युगपुरुष: कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति

नक्षत्र: ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक

जीवन: शरीरमा प्राण रहेसम्मको अवस्था

धडाधड: चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम

म्याट्रिकुलेसन: हालको एसइई सरहको परीक्षा

प्रज्वलित: एकदम बलेको, दन्केको

परिवेष्टित: चारैतिरबाट घेरिएको

२. अनुच्छेदमा रेखाङ्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् :

राससका पत्रकार मोहन प्रमको अन्तर्वार्ता लिएर घर गए । उनकी श्रीमती रमा जनता माविमा प्रअ थिइन् । विव्यसको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिविका उपप्रा दावासँग र प्रजिअ रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोपमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।

उत्तर:

राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए । उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।

३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः

उत्तर:

देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अब्बलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए । उनका चेला आज पनि उनी जस्तो शिक्षक र प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरा गर्छन् । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनमा अनिवार्य विषयका रूपमा लागु गर्ने गराउने कार्यमा उनैको विशेष पहलकदमी रह्‍यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय संलग्‍न भएर संस्थागत रूपमा साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा उनको योगदान चिरस्मरणीय रहेकै छ । त्रिभुवन विश्वविद्यालय कहाँ

रहने भन्‍ने स्थान चयन पनि उनीबाटै भयो । उनी एक यस्ता मोती हुन् जसले जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई झन् झन् चम्काइदिए।

प्राध्यापक (प्रा): मेरो विश्वविद्यालयमा प्राध्यापक बनेर शिक्षण गर्ने लक्ष्य छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान : मेरो मामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुहुन्थ्यो ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) : म स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयमा पढ्ने छु ।

४. दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर. पठनपाठन विद्यालयमा पठनपाठन सुरु भएको छ ।       

देहावसान हुनुः लक्ष्मीप्रसाद देवकोटाको ५० वर्षको उमेरमा देहावसान भएको थियो ।

मन्त्रमुग्ध पार्नुः कृष्णले बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्ध पारे।

स्वर्णकालः  धेरै मान्छेहरु बाल्यकाललाई नै जीवनको स्वर्णकाल मान्छन् ।

भुलभुलैयाः  माया प्रेम भन्ने कुरा पनि दुई दिनको भुलभुलैया रहेछ ।

नवजात शिशु: नवजात शिशुलाई राम्रो स्याहार चाहिन्छ ।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

मानवतावादी, वरदपुत्र, शुभचिन्तक, दूरदर्शिता, उच्च पदस्थ, स्मरणशक्ति, उद्दीप्त, सारगर्भित, शृङ्खला, प्राध्यापक, नक्षत्र, प्रताडित

२. लक्ष्मीप्रसाद देवकोटा जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् ।

३. दिइएका प्रश्‍नको उत्तर भन्‍नुहोस् :

(क)'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?

उत्तर: 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ ।

(ख)जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य कुन हो ?

उत्तर: जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य 'उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य

कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्' हो ।

(ग) जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?

उत्तर: देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको संलग्नता र योगदानको सन्दर्भपछि आएको छ ।

(घ) देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔं अनुच्छेदमा छ ?

उत्तरःदेवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको छैटौं अनुच्छेदमा छ ।

४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्‍नको उत्तर दिनुहोस् :

छाँगो छडछड़ाए झैं विजुली वेगमा कविता लेख्‍ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् । उनले विभिन्‍न साहित्यिक विधामा कलम चलाएका छन् । उनका 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप प्रमिथस' आदि प्रसिद्ध महाकाव्य हुन् । उनले 'मुनामदन', 'कुञ्जिनी' र 'लुनी' जस्ता दर्जनौं खण्डकाव्य लेखे । उनले 'यात्री', 'पागल', र 'प्रभुजी मलाई भँडो बनाऊ' जस्ता सयौं कविता लेखे । उनले कविता विधामा मात्र आफ्नो कलमलाई सीमित गरेनन् । उनले लेखेका साह्रै गहकिला निबन्ध 'लक्ष्मी निबन्ध संग्रह' 'दाडिमको रुखनेर' मा सङ्कलित छन् । उनको एउटा 'सावित्री सत्यवान' भन्ने नाटक र 'चम्पा' उपन्याससमेत प्रकाशित छ । वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्‍न विधाका दर्जनौं साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । जति बेला ताते गर्दै नेपाली साहित्य क्रमशः किशोर वयतिर चढ्दै थियो, ठिक त्यति बेला नेपाली साहित्यले उनको कलमको जादुमय स्पर्श पायो । त्यसपछि नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे । अझ भनौं, उनी कवितैकवितामा कुराकानी गर्न सक्थे । त्यसो नहुँदो हो त तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्‍जिनी' खण्डकाव्य लेख्‍न जोसुकैका लागि सम्भव हुने कुरा कहाँ थियो र ! साहित्यमा देवकोटाका लागि भने असम्भव केही थिएन । अरू कविको नजरबाट ओझेल परेको झ्याउरे छन्द अर्थात् लोकभाकालाई ‘मुनामदन' मार्फत् देवकोटाले नै शिखरमा पुर्याएका थिए । आफ्नो जीवन अवधिमा उनले कविताका क्षेत्रमा ७०० जति फुटकर कविताका साथै आधा दर्जन महाकाव्य रचना गरे । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् ।

(क) देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?

उत्तर:देवकोटाको निबन्ध सङ्ग्रहको नाम 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर' हो ।

(ख)   देवकोटा प्रसिद्ध महाकाव्य कुन कुन हुन् ?

 उत्तर: देवकोटा प्रसिद्ध महाकाव्य 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप प्रमिथस' आदि हुन् ।

(ग)   देवकोटाले कुन कृतिमार्फत् लोकभाकालाई शिखरमा पुयाए ?

उत्तर: देवकोटाले 'मुनामदन' मार्फत् लोकभाकालाई शिखरमा पुऱ्याए ।

(घ)  देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ?

उत्तर:देवकोटाले आफ्नो जीवन अवधिमा प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध आदि रचना गरेकाले नेपाली साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् ।

५. दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्‍नुहोस् :

उत्तरः

(क) लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं.- १९६६

ख) मनदेवी चालिसेसँग विवाह वि.सं.- १९८१

(ग) म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण वि.सं.- १९८२

(घ) आइएस्सी परीक्षा उत्तीर्ण वि.सं. - १९८५

(ङ) अङग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्ना वि.सं.- १९७७

(च) अफ्रो एसियाली लेखक सम्मेलनमा सहभागी वि.सं.- २०१५

(छ) डा. के.आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्तः - वि.सं. २०१३

६. दिइएका प्रश्‍नको उत्तर लेख्‍नुहोस् :

(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्‍नुहोस् ।

उत्तर: लक्ष्मीप्रसाद देवकोटाले जीवनमा पारिवारिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा समस्या भोग्‍नुपयो । देवकोटाले २५-२६ वर्षको उमेरमा बुबा, आमा र छोरी गुमाउनु पयो । उनले जीवनमा 'पागल' को संज्ञा पनि खेप्‍नुपर्यो । देवकोटालाई क्यान्सर रोगले सतायो । एकातिर क्यान्सरको सहनै नसकिने पीडा र अर्कातिर उपचारको आर्थिक सङ्कटले देवकोटालाई प्रताडित गयो । लक्ष्मीपूजाका दिन जन्मे पनि जीवनभर उनलाई लक्ष्मीले उपेक्षा गरिन् । यसरी उनको जीवनमा अनेकौँ उतारचढाव आएको बुझ्न सकिन्छ ।

(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।

उत्तर: नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । उनी बिरामी भएर भारतमा उपचार गराउँदा विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिएर काठमाडौं आए । देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरे । नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाए । त्यसैगरी उनको प्रतिभा राणाहरूको निरङ्कुशतामा पनि मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो । मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो,त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्‍न भए । उनी बनारसबाट निस्किने 'युगवाणी'पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध विद्रोहको वाणी फुके ।

(ग) देवकोटालाई आशु कविका रूपमा चिनाउनुहोस् ।

 

उत्तर: आशुकवि भनेर छिटो कविता रच्‍न सक्ने कविलाई बुझिन्छ । उनी कुरा गर्दागर्दै कविता लेख्‍न सक्थे र कवितै कवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका थिए । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे । उनले कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा उत्कृष्ट वर्णन गर्न सक्थे । त्यसैले उनलाई आशुकवि मान्‍न सकिन्छ ।

(घ) 'लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्‍नुहोस्

उत्तर: देवकोटा एक यस्ता मोती थिए जसले, जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई चम्काइदिए । पारिवारिक वियोग, चरम आर्थिक अभाव र प्रतिकूल राजनैतिक अवस्थामा पनि उच्च स्तरका साहित्य रचना गरेका थिए । हामी पनि प्रतिकूल अवस्था भए पनि लक्ष्यमा अग्रसर हुनुपर्छ । आफ्नो देशलाई माया गर्नुपर्छ अनि समाज र राष्ट्रको सेवामा तल्लीन रहनुपर्छ । आफ्नो भाषा र साहित्यलाई विश्वमा चिनाउनुपर्छ । आफ्नो क्षमतालाई चिनेर अगाडि बढ्ने मानिस सफल मान्छे बन्‍न सक्छ । यसरी मानवताको भाव बोकेर समाजका कुनै न कुनै क्षेत्रमा विशेष योगदान पऱ्याउन सक्नपर्छ भन्‍ने सन्देश उनको जीवनीबाट पाउन सकिन्छ ।

७. व्याख्या गर्नुहोस् :

(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्‍न सक्थ्यो र ?

उत्तर:माथिको वाक्यांश 'लक्ष्मीप्रसाद देवकोटा' जीवनी पाठबाट उद्धृत गरिएको हो । जतिबेला देवकोटाको कलमको जादु सुरु भयो, त्यतिबेला नेपालमा राणाहरूको निरङ्कुश शासन चलिरहेको थियो । खुलेर साहित्य सिर्जना गर्न नपाइएको त्यो प्रतिकूल समयमा उनको साहित्यकार व्यक्तित्व कहिल्यै मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो। उनको कलम साँघुरो सुरुङभित्र सीमित रहेन ।

मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो

समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्‍न भए । उनले बनारसबाट प्रकाशित हुने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । उनकै पालामा र उनको पनि संलग्‍नतामा काठमाडौँमा पुस्तकालय खोली जनतामा राणाविरोधी चेतना फैलाउन खोज्दा राणाहरुद्वारा लाईब्रेरी पर्व पनि घटाइएको थियो । यस्तो अवस्थामा पनि बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । स्वच्छन्दतावादी कविको विशेषता बोकेका कवि देवकोटाले निरङ्कुश शासन व्यवस्था हुँदा पनि स्वच्छन्द बनेर सिर्जनामा लागिरहे । राणाहरुको धरपकड, डर धम्की र त्रासका बाबजुद पनि यो तह र सङ्ख्यामा साहित्य सिर्जना गर्नुले देवकोटाको प्रतिभा नरोकिएको स्पष्ट हुन्छ । जसरी महासागरको पानी साँघुरो सुरुङभित्र बग्‍न सक्दैन, त्यसरी नै राणाहरूको निरङ्कुशताभित्र देवकोटाको प्रतिभा सीमित हुन सकेन । उनको प्रतिभा विश्वभर फैलियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्‍थ्‍यो ।

(ख)हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।

उत्तर: माथिको वाक्यांश 'लक्ष्मीप्रसाद देवकोटा' जीवनी पाठबाट उद्धृत गरिएको हो । वि. सं. २०१५ मा तत्कालीन सोभियत संघमा भएको ‘अफ्रो एसियाली लेखक सम्मेलन' मा भाग लिँदा उनले यो महत्त्वाकाङ्क्षी विचार प्रस्तुत गरेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिभा विश्वभर फैलिएको थियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुगेको थियो । देवकोटाले नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाएका थिए

 'अफ्रो एसियाली लेखक सम्मेलन' मा उनले नेपाली साहित्य विश्व साहित्यसँगै हातेमालो गरेर अगि बढ्ने विचार

प्रस्तुत गरेका थिए । यो कुरा सहभागीको हृदय हल्लाउने गरी सारगर्भित पाराले यसरी व्यक्त गरेका थिए । नेपाली

साहित्य हिउँ र पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन र विश्व साहित्यकै स्तरमा विकास हुने बताएका थिए । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्टित गर्ने साहित्यको असीम

महासागरमा मिल्ने उनको आँकलन थियो । उनको यो आत्मविश्वास प्रशंसनीय छ । यस महासागरद्वारा सिञ्‍चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्‍न बनेर जलविन्दुका रूपमा फेरि हाम्रा पहाडमा नै बर्सने कुराबाट उनको नेपाली साहित्यप्रतिको प्रेम झल्किन्छ । वास्तवमा यस्तो व्यक्तित्व नेपाली साहित्यले पाउनुमा हामी गर्व गर्नै पर्छ ।

८. लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।

उत्तरः विराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ - २०१६) नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन् ।नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन्। त्रिचन्द्र कलेजबाट बी. ए. सम्मको शिक्षा हासिल गरेका देवकोटाले बिजुली वेगमा अनवरत साहित्य रचना गरे । देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याए ।

दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्‍न सुरु गरेका देवकोटाले त्यसै बेला अङ्ग्रेजीमा कविता लेखेर समस्त शिक्षक र सहपाठी साथीलाई चकित पारिदिएका थिए । छाँगो छङछङाएझैँ बिजुली वेगमा कविता लेख्‍ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् ।उनका शाकुन्तल, सुलोचना, महाराणा प्रताप प्रमिथस आदि प्रसिद्ध महाकाव्य हुन् । उनले मुनामदन, कुञ्‍जिनी र लुनी जस्ता दर्जनौँ खण्डकाव्य लेखे ।उनले यात्री, पागल जस्ता सयौं कविता लेखे । उनले लेखेका साह्रै गहकिला निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रह दाडिमको रुखनेरमा सङ्कलित छन्। उनको एउटा सावित्री सत्यवान भन्‍ने नाटक र चम्पा उपन्याससमेत प्रकाशित छ । वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्‍न विधाका दर्जनौं साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनको कलमको जादुमय स्पर्शले नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो उनले मुनामदनमार्फत् ओझेल परेको झ्याउरे छन्दलाई देवकोटाले नै शिखरमा पुऱ्याएका थिए । उनले तीन महिनामा शाकुन्तल महाकाव्य, १० दिनभित्रका ६० घण्टामा सुलोचना महाकाव्य र एकै रातमा कुञ्‍जिनी खण्डकाव्य लेखेका थिए । त्यसैले उनी आशुकवि हुन् । उनी त्रिचन्द्र कलेजका प्राध्यापक पनि भए । उनी २०१३ सालमा डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्री बने । देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्‍नो अब्बलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए ।

उल्लिखित योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारेका थिए। क्यान्सरकै कारण मृत्युशैयामा छटपटाउँदा पनि उनले साहित्य सिर्जना गर्न छोडेनन् । देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन्। उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्।

९. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्‍नुहोस् :

भाषा भाषिक समुदायको संस्कृति र जीवनपद्धतिलाई प्रतिबिम्बित गर्छ । भाषाको मुख्य काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो । नेपाली भाषामा प्रखर अभिव्यक्ति क्षमता छ अनि अत्याधुनिक आविष्कारका साथै विविध भाषामा प्रयोग भइरहेका नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने र सहज रूपमा पचाउने क्षमता पनि छ। देशको भाषिक मौलिकताको रक्षा राष्ट्रको अस्मितासँग नै गासिएको हुन्छ । मौलिक नेपाली शब्दले भाव सम्प्रेषण गर्न सक्ने अवस्था रहेसम्म सजिलाका लागि अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता यसका वक्तामा रहनुपर्छ । अन्थया भाषिक प्रयोगका हिसाबले नेपाली भाषाको मौलिकता विलीन हुँदै जाने र मिश्रित भाषाका रूपमा नेपाली भाषा रूपान्तरित हुने अवस्था आउन सक्छ । नेपाली पत्रकारितामा भाषिक प्रयोग नेपालको मौलिक पहिचानसँग गाँसिएको सवाल हो । यसका निम्ति भाषिक आत्मनिर्भरतातिर पनि हाम्रो सोच र प्रयास अगाडि बढ्नुपर्छ

उत्तरः बुँदा टिपोटः

  • भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु रहेको,
  • नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको,
  • नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्ने,
  • भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्ने ।

नेपाली भाषाको संरक्षण

भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो। नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ। नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ। भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्छ ।

अनुच्छेदमा दिइएको शब्द सङ्ख्याः ११५

सारांशमा हुनुपर्ने शब्द सङ्ख्याः ३९

सारांशमा भएको शब्द सङ्ख्याः ४४

११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाईंलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्‍नुहोस् ।

उत्तरः लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि मलाई भविष्यमा असल मान्छे बनूँ जस्तो लाग्यो । हुनत मसँग लक्ष्मीप्रसाद देवकोटासँग जस्तो अद्वितीय प्रतिभा त छैन तैपनि आफ्नो क्षमता र हैसियतले भेटेसम्म समाजको कुनै क्षेत्रमा योगदान पुऱ्याउने इच्छा बढेको छ । साहित्यिक र यस्तै कलाका क्षेत्रमा काम गर्न नसके पनि एउटा समाजसेवी भएर समाजको सेवा गर्न मन लाग्यो । हामीले व्यक्तिगत खुसी मात्र हेरेर नहुने रहेछ । एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले अरुको लागि पनि काम गर्नुपर्ने रहेछ । म पहिला त राम्रोसँग आफ्नो अध्ययनलाई पुरा गर्ने छु अनि एउटा सफल र असल मान्छे बनेर समाजको हितमा पनि लाग्‍ने छु ।

१२. 'देवकोटा छाँगो छङ्छङाए झैँ कविता लेख्‍ने कवि हुन्' भन्‍ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्‍नुहोस् ।

उत्तर: ‘देवकोटा छाँगो छङ्छङाए झैँ कविता लेख्ने कवि हुन्' महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने नेपाली साहित्यका युगपुरुष हुन् । छाँगो छङछङाए झैं विजुली वेगमा कविता लेख्थे । उनले लगातार चार दशकसम्म विभिन्‍न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनी कुरा गर्दागर्दै कविता लेख्‍न सक्थे । अझ भनौं, उनी कवितैकवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्‍जिनी' खण्डकाव्य लेखेका थिए । । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् । उनी आशुकवि हुन् । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे । उनले छोटो समयमा मात्र लेखेनन्, स्तरीय र गहन कृतिहरु लेखे । त्यसैले छाँगो छङ्छङाए झैँ उनका कलमबाट सिर्जना फुरिरहन्थे भन्‍ने कुरामा दुई मत छैन।

१३.दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्‍नको उत्तर लेख्‍नुहोस् :

समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्‍न विद्युत्‌को प्रवाह हो, चट्याङ । जब बादलमा भएका कण आवेशित भएर धन र ऋण आवेशमाप रिवर्तित हुन्छन् तब विद्युत् उत्पन्‍न हुन्छ । यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ । यसैलाई हामी आकाशमा बिजुली चम्केको वाट्याङ परेको भन्छौं । थोरै र सामान्य बचाउको प्रयास गर्दा चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ । चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ । यस्तो क्षणमा सकेसम्म विद्युतीय उपकरणको प्रयोग नगर्ने, बिजुलीको पोल छेउमा नबस्ने, सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्ने, चट्याङ पर्न लाग्दा पानीमापौडिरहेको भए समतल भूमिमा निस्किने र सुरक्षित स्थानमा आश्रय लिने गर्नुपर्छ । यस्तो वेला अग्लो वस्तु, रुख, झन्डा बाँध्‍ने पाइप वा बॉसनजिक जानहुँदैन । खुला चउर, खुला संरचना तथा गाडीमा पनि जानुहुँदैन । यस्तो बेला कम्युटर, टेलिफोन जस्ता विद्युतीय सुचालक वस्तुबाट टाढा बस्नुपर्छ । चट्याङको आवाज आइरहेका बेला तारवाला फोन उपयोग गर्नुहुँदैन । आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ । वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले घरबाहिर परियो भने एकछिन पर्खनु राम्रो हुन्छ । कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरुन्त अस्पताल लानुपर्छ । चट्याङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छँदा कुनै असर पर्दैन ।

(अ) चट्याङ भनेको के हो ?

उत्तर: समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्‍न विद्युतको प्रवाह चट्याङ हो ।

    (आ) चट्याङ कसरी पर्छ ?

उत्तर: जब बादलमा भएका कण आवेशित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत् उत्पन्‍न हुन्छ । यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ र चट्याङ पर्छ ।

(इ) चट्याङ परेका वेला गर्न नहुने काम के के हुन् ?

उत्तर: चट्याङ परेका वेला अग्लो वस्तु, रुख, गाडी, खुला ठाउँ, झन्डा बाँध्‍ने पाइप वा बॉस नजिक र विद्युतीय वस्तुनजिक जानुहुँदैन ।

(ई) चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्‍न सकिन्छ ?

उत्तर:चटयाङबाट हने दर्घटनाबाट बच्न पक्की भवनमा आश्रय लिनपर्छ ।

भाषिक संरचना र वर्णविन्यास

१.दिइएको अनुच्छेद पढ्नुहोस् र कक्षामा छलफल गर्नुहोस् :

व्याकरणपुरको एउटा टोलमा कारकको परिवार बस्थ्यो । कारकका छ सन्तान थिए, कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण । यी सबैको काम आवश्यकताअनुसार वाक्यमा आएका पदलाई क्रियासँग त्यसको अर्थका आधारमा फरक फरक सम्बन्धसहित वाक्यलाई अनुशासनमा राख्‍नुपर्ने थियो । उनले कर्तालाई बोलाएर भने, “हेर कर्ता, तिमीले क्रियाले अह्राएको काम गर्नू । तिमीलाई चाहियो भने 'ले' को सहयोग पनि लिन सक्छौं है ।” त्यस दिनदेखि कर्ताले क्रियाको काम सम्पन्‍न गर्न थाल्यो । उनले कर्मलाई भने, “हेर कर्म ! तिमीलाई क्रियाले काम गर्दा अलि असर वा प्रभाव पर्न सक्छ, राम्ररी ख्याल गर्नु है । तिमीलाई चाहिँदा 'लाई' ले सघाउला ।” त्यसपछि करणलाई बोलाएर भने, “हेर करण ! तिमी चाहि कर्ताल गर्ने कामका लागि क्रियाको साधन बन है, तिमीसँग 'ले', 'बाट' पनि सँगै आउँछन् ।” त्यसपछि क्रमशः सम्प्रदानलाई क्रियाले दिएको पाउने अर्थमा वाक्यमा खटिन अह्राए र यससँग 'लाई' 'का लागि निम्ति ' आउन सक्छन् भने । अपादानलाई 'देखि ',‘बाट' जस्ता सङ्केतका साथ छुट्टिने अर्थमा प्रयोग हुनू भनी खटाए । अधिकरणलाई चाहिँ कामको समय र स्थानगत आधार दिनु भनी आदेश दिए र त्यसमा कहिलेकाहीँ 'मा' ले सहयोग गर्छ पनि भने । त्यसपछि सबैले आआफ्नो जिम्माको काम गरौं। कारकलाई व्याकरणपुरको असाध्यै अनुशासित परिवार भन्‍नेछन् भनी उनले सुनाए । अँ, एउटा कुरा ख्याल गर । को, का, की जस्ता चिन्ह लागेका शब्द कारक होइनन् नि, तिनले त नजिकको पदसँग मात्र सम्बन्ध जनाउँछन् ।

२. दिइएका रेखाङ्कित शब्दको अर्थका आधारमा कारक चिनाउनुहोस् :

हरिले सिन्काले कान कोट्यायो । उसको कान दुख्यो । ऊ घरबाट अस्पतालमा पुग्यो । डाक्टरले उसलाई औषधी दिए । डाक्टरले उसलाई भने, “आजदेखि सिन्काले कान नकोट्याउनू नि ।”

उत्तरः

हरिले :कर्ता कारक

सिन्काले :करण कारक

कान :कर्म कारक

घरबाटः अपादान कारक

कानः कर्म कारक

अस्पतालमा : अधिकरण कारक

डाक्टरले :कर्ता कारक

उसलाई :सम्प्रदान कारक

औषधी :कर्म कारक

आजदेखि :अपादान कारक

३.दिइएको अनुच्छेदमा रहेका रेखाङ्कित कारक सरल वा तिर्यक् के हुन्, पहिचान गरी कक्षामा छलफल गर्नुहोस् :

सुनिताले अनितालाई भनिन म र तँ भएर पुस्तकालय जाऔँ । मलाई मुनामदन पुस्तक पुस्तकालयमा बुझाउनु छ । यो किताब साह्रै राम्रो रहेछ । यस किताबमा मुना र मदनको कथा रहेछ । तैंले देवकोटाको कुञ्‍जिनी खण्डकाव्य ल्याएर पढ् । त्यो किताब पनि साह्रै राम्रो छ अरे ।

उत्तर:

सुनिताले :तिर्यक कारक

अनितालाई :तिर्यक कारक

:सरल कारक

पुस्तकालय : सरल कारक

मलाई- तिर्यक कारक

मुनामदन -सरल कारक

पुस्तक- सरल कारक

पुस्तकालयमा :तिर्यक कारक

यो- सरल कारक

किताब- सरल कारक

 यस- तिर्यक कारक

किताबमा-तिर्यक कारक

मुना- सरल कारक

मदनको- तिर्यक कारक

कथा- सरल कारक

तैंले- तिर्यक कारक

देवकोटाको :तिर्यक कारक

कुञ्‍जिनी :सरल कारक

खण्डकाव्‍यः सरल कारक

त्यो -सरल कारक

किताब- सरल कारक

४. सरल र तिर्यक् कारक प्रयोग भएका तीन तीनओटा वाक्य 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीबाट खोजेर लेख्‍नुहोस् ।

उत्तर: (विभक्ति प्रत्यय नगाँसिएका)

सरल कारक:

उनी कुरा गर्दागर्दै कविता लेख्‍न सक्थे । त्यहाँ उनी सिकिस्त बिरामी परे ।

तिर्यक् कारकः

( नामिक पदमा विभक्ति, नामयोगी, प्रत्यय, हरु, आदरार्थी जोडिएर आउँदा)

विराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन् । नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । शिक्षित र पठित परिवारमा जन्मेका जीवनमा दुःख र सुखका अनेकौँ उकाली र ओराली भोगेका देवकोटाले किशोरावस्थादेखि नै स्तरीय कृति रचना गरे ।

५. अनुच्छेदबाट विभक्ति लागेका चारओटा शब्द टिपोट गरी तिनको कारक छुट्याउनुहोस् :

हरिनाथ जनता कलेजमा प्राध्यापन गर्छन् । उनी घरबाट कलेजमा हिँडेर जान्छन् । उनी विद्यार्थीलाई नेपाली साहित्यको शिक्षा दिन्छन् । उनी विद्यार्थीलाई पढाउँदा मार्करले शैक्षणिक पाटीमा लेख्छन् । उनी विद्यार्थीलाई कक्षाकोठामा पढाउँछन् । उनी विद्यार्थीलाई कक्षाकोठादेखि बाहिर चउरमा पनि पढाउँछन् ।

उत्तर: कलेजमा - अधिकरण कारक

विद्यार्थीलाई-सम्प्रदान कारक

घरबाट :अपादान कारक

मार्करले :करण कारक

६. सबै प्रकारका विभक्ति लागेका शब्द पर्ने गरी कुनै एक सङ्गीतकारका बारेमा लेख्‍नुहोस् ।

उत्तर: सङ्गीतकार कालीप्रसाद बास्कोटाले (कर्ता कारक ) औंलाले (करण कारक ) गितार (कर्म कारक ) बजाउँछन् । उनी एक दशकदेखि (अपादान कारक ) निरन्तर सङ्गीतमा (अधिकरण कारक ) लागेका छन् । उनले गीत गाएर श्रोतालाई ( सम्प्रदान कारक) भरपुर मनोरञ्जन दिन्छन् ।

७. ‘लक्ष्मीप्रसाद देवकोटा’ जीवनीबाट 'छ्य' र 'क्ष' प्रयोग भएका चार चारओटा शब्द टिपोट गरी लेख्‍नुहोस्।

उत्तर:

'छ्य' प्रयोग भएका शब्द: छन्, छाएको, छिया, इच्छा,

'क्ष' प्रयोग भएका शब्दः लक्ष्मीप्रसाद, नक्षत्र, शिक्षित, शिक्षक ।

८. दिइएका 'छ्य' र 'क्ष' प्रयोग भएका शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्‍नुहोस् :

पछ्यौरी, छ्याप्नु, हाछ्यूँ, कक्षा, शिक्षा, शिक्षित, क्षण, दक्ष, रक्षा

उत्तर: सुप्रिया गुलाबी पछ्यौरी ओढेर विद्यालय आएकी थिइन् । उनलाई बाटोमा गाडीले हिलोले छ्यापेछ । चिसो लागेर होला,उनी हाछ्युँ पनि गरिन् । कक्षामा उनलाई सबैले माया गर्छन् । उनको शिक्षा यही विद्यालयबाट सुरु भएको हो । उनकोबुबाआमा पनि शिक्षित हुनुहुन्छ । उनीसँग बिताएका हरेक क्षण अविस्मरणीय छन् । उनी भविष्यमा दक्ष व्यक्ति बनेर समाजको रक्षा गर्ने छिन् भनेर सबैले आशा गरेका छौं ।

९. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

ग्ञवाली षरले कछ्यामा आएर नेपाली भासा र शाहित्य पढाउनुभयो । उहाँको षिकाउने तरिका गजबकै छ । उहाँले

पढाएको त क्षाङ्गै बुझिन्क्ष । दिनेस, उमेष र रिसिलाई पनि उहाँले पढाएको षारै मन पर्क्ष रे ।

उत्तर: ज्ञवाली सरले कक्षामा आएर नेपाली भाषा र साहित्य पढाउनुभयो । उहाँको सिकाउने तरिका गजबकै छ । उहाँले पढाएको त छ्याङ्गै बुझिन्छ । दिनेश, उमेश र ऋषिलाई पनि उहाँले पढाएको साह्रै मन पर्छ रे

सिर्जना र परियोजना कार्य

१. दिइएका बुँदाका आधारमा इन्दिरा प्रसाईको जीवनी तयार पार्नुहोस् :

नामः इन्दिरा प्रसाई, जन्म वि.सं. २०१४ फागुन ३, दार्जिलिङ, ठेगानाः काठमाडौं महानगरपालिका, अनामनगर मातापिताः दुर्गादेवी नेपाल र गणेशप्रसाद शर्मा,शिक्षा: एम.बी.ए. (त्रिवि), साहित्यिक कृतिः कथा, कविता, निबन्ध, उपन्यास, खण्डकाव्य, समीक्षात्मक जीवनीमूलक निबन्ध, साहित्यिक विशेषताः नारीवादी साहित्यकार, सामाजिक कथाकार, मनोवैज्ञानिक कथाकार, जीवन र विज्ञानको समन्वय गरी साहित्य लेख्‍ने साहित्यकार, सम्मान पुरस्कारः युवावर्ष  मोति पुरस्कार, मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय गौरव युवासम्मान, दीपज्योति पुरस्कारलगायत थुप्रै पुरस्कारबाट सम्मानित

 

इन्दिरा प्रसाई

मानिसहरु आफ्नो प्रतिभा, कला र क्षमताबाट प्रसिद्ध बन्‍न सक्छन् । त्यस्तै नेपाली साहित्य सिर्जनामा लागेर साहित्यप्रेमी माझ प्रसिद्ध नाम हो, इन्दिरा प्रसाई । उनको जन्म वि.सं. २०१४ फागुन ३ गतेका दिन भारतको दार्जिलिङमा भएको थियो । उनको जन्म भारतमा भए पनि उनी अहिले काठमाडौं महानगरपालिकाको अनामनगरमा बसोबास गर्दै आएकी छिन् । उनी पिता गणेशप्रसाद शर्मा र माता दुर्गादेवी नेपालका सन्तान हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एम. बी. ए. सम्मको शिक्षा हासिल गरेकी छिन् । जन्मथलो भारत भए पनि कर्मथलो नेपाललाई बनाएर नेपाली साहित्य सिर्जनामा लागेकी स्रष्टा प्रसाईले कैयौँ कृतिहरु रचेकी छिन् । उनले

कथा, कविता, निबन्ध, उपन्यास, खण्डकाव्य, समीक्षात्मक जीवनीमूलक निबन्ध आदि विभिन्‍न विधामा कलम चलाएकी छिन् । बहुमुखी प्रतिभाकी धनी प्रसाईं कथाकारका रुपमा बढी चिनिन्छिन्। उनलाई नेपाली साहित्यमा नारीवादी साहित्यकार, सामाजिक कथाकार, मनोवैज्ञानिक कथाकार र जीवन र विज्ञानको समन्वय गरी साहित्य लेख्ने साहित्यकारका रुपमा चिनिन्छ । उनले नेपाली साहित्यमा अविस्मरणीय योगदान दिएकी छिन्। यही योगदानको कदर गर्दै उनलाई थुप्रै पुरस्कारले सम्मान गरिएको छ । उनी युवावर्ष मोति पुरस्कार, मैनाली कथा पुरस्कार,राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय गौरव युवासम्मान, दीपज्योति पुरस्कारलगायत थुप्रै पुरस्कारबाट सम्मानित भएकी छिन् । इन्दिरा प्रसाईं निरन्तर नेपाली साहित्य साधनामा लागिरहेकी छिन् । भूगोलको सीमाभन्दा माथि उठेर नेपाली साहित्यको विकासमा लागेकी प्रसाईंबाट हामी पनि कुनै क्षेत्रमा लागेर उल्लेखनीय योगदान पुयाउन प्रेरणा प्राप्त गर्न सकिन्छ।

Share:
Copyright © हेमन्त पराजुली | Design by:- Hemanta Parajuli |