कविको परिचय र प्रवृत्ति
दिनेश
अधिकारी (वि.सं. २०१६) नेपाली कविताको समसामयिक धाराका विशिष्ट प्रतिभा हुन् । उनी
नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार हुन् । कवि अधिकारीका अन्तरका छिटाहरू
(२०३७),‘धर्तीको गीत (२०४४), इन्द्घजात्रा (२०५१), अतिरिक्त अभिलेख, आदिम आवाज, मन
र मोडहरू, सीमान्त सपना जस्ता कृतिहरू प्रकाशित छन् । उनी
सामाजिक समस्यामा आधारित विषयवस्तुमा घतलाग्दा कविता रच्ने कवि हुन् । उनका
कवितामा मानवतावाद र राष्ट्रियताको भावधारा पनि पाइन्छ । गाउँमाथि एउटा कविता
नेपालका ग्रामीण भेगका यथार्थ र समस्यामा आधारित ग्रामीण भेगको वास्तविक चित्र
उतारिएको गद्य कविता हो ।
भावार्थ
बोध
गाउँका
घरहरू सेताम्मे कपाल फुलेकी बुढी मान्छेका थोता दाँतहरू जस्तै ठाउँ ठाउँमा रहेका
हुन्छन् । खर,
पराल, ढुङ्का आदिका छानो लगाइएका घरहरू कतै
कतै एकै ठाउँमा गुजमुजिएका पनि हुन्छन् । घरभित्र रहेका मान्छेहरू अन्धविश्वासलाई
विश्वास मानेर बसिरहेका हुन्छन् । गाउँमा समय घडीले होइन कुखुराको भालेले बासेर
जनाउने गर्छ । विदेसिएकाहरूको सञ्चो बिसञ्चो अँगेनामा नुन पड्काएर अन्दाज गरिन्छ ।
कवि गाउँमा विज्ञानको बेग्लै तरिका रहेको कुरा अभिव्यक्त गर्दछन् । गाउँका मानिसको
आङमा घाम लाग्ने नलाग्ने कुरा अर्थात् जीवन कसरी व्यतीत हुन्छ भन्ने कुरा
खेतबारीमा हुने बालीनालीको उब्जाउलाई हेरेर निश्चय गरिन्छ । हाम्रा देशका अधिकांश
गाउँहरूको यही अवस्था रहेको छ, चाहे त्यो सुदूर पूर्वका गाउँ
होस् चाहे सुदूर पश्चिमका गाउँ होस् ।
गाउँले
जीवन छिमेकीको अगेनाबाट आगो ओसारेर सुरु हुन्छ । त्यस्तै गोठमा रहेका गाईवस्तुलाई
घाँसपात हालेर केटाकेटी हुन्छ भने खेतमा गोरु नारेर तन्नेरी हुन्छ। गाउँलेहरू
दिनभरि कामको चटारो पर्ने हुँदा हतारिइरहन्छन् । आÇनो व्यक्तिगत
कामका अतिरिक्त उनीहरूलाई जन्त जाने, मलामी जाने, पर्म जाने, सिकिस्त बिरामीका लागि धामीझाँक्री
बसाउने, जात्रामा गएर रमाइलो गर्ने जस्ता कामहरू पनि
गर्नुपर्ने हुन्छ । गाउँभरिका मान्छेलाई पानीका लागि एउटा मात्र इनार रहेको हुन्छ।
पानीका लागिकहिल्यै झगडा पर्दैन । पानी खान नपाएको गुनासो कहिल्यै सुनिँदैन ।
मेलापात जाँदा आफ्नै सन्तान पनि भार हुन सक्छ भन्ने कुरालाई बिर्सिएर काखको सानो
नानीलाई मजेत्रोले पिठ्यूँमा बाँधी सबै आमा मेलापातमा जान तयार हुन्छन् ।
उनीहरूलाई भकारो सोहोर्ने शैली, अनौ समात्ने तरिका, कोदालो अर्जाप्ने कुरा मात्र थाहा हुन्छ । बाली लगाउने र भि’र्याउने समय
मात्र थाहा हुन्छ । यसलाई चुनाव, उत्सव केहीले पनि रोक्न
छेक्न सक्दैन ।
सम्पादकलाई
सम्बोधन गर्दै कवि बमवर्षाका खबरहरू छापिएकामा दुखेसो गर्छन् । बालिग मताधिकारका
कुराहरू,
साहित्यिक आन्दोलनका इतिहासहरू, अन्तरिक्ष
यानका गतिविधिहरू छापेर नयाँ नेपालको कल्पना साकार नहुने कुरा कवि अभिव्यक्त
गर्दछन् । तपाइँ हामीले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको गाउँ, तपाइँ हामीलाई नागरिकता बाँड्ने देशको जन्मदाता गाउँ अझै पनि लङ्कडो
खुट्टा उचालेर ढिकीमा उभइरहेको छ, जाँतोमा टाउको अड्याएर
निदाइरहेको छ । चुनावका घोषणापत्रहरू गाउँलेहरूका लागि सिँगान पुछ्ने कागजभन्दा
बढी सफल हुन सक्दैन । त्यस्तै अन्तरिक्षका गतिविधिहरू पढ्नु भनेको उनीहरूका लागि
दन्त्यकथा अर्थात् एकादेशको कथाको सिलसिला जोड्नु जत्तिको मात्र हो । गाउँलेहरूका
निम्ति यसको केही अर्थ छैन ।
मूल
भाव वा सन्देश
नेपाली
साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०१६) द्वारा रचित
गाउँमाथि एउटा कविता गद्य शैली ( मुक्त लय) मा संरचित कविता हो । प्रस्तुत कवितामा
सानाठुला गरेर ६९ हरफहरू रहेका छन् । सरल र प्रभावकारी भाषाशैलीको प्रयोग गरिएको
यस कवितामा कविले नेपालका ग्रामीण भेगहरूको यथार्थ चित्रण गर्दै राष्ट्रिय चेत
जागृत गर्ने उद्देश्य राखेका छन् ।
देशमा
जतिसुकै ठुला राजनीतिक परिवर्तन आए पनि ग्रामीण क्षेत्र सधैँ उपेक्षित रहेको कटु
यथार्थलाई कवितामा चित्रण गरिएको छ । गाउँलेहरू अझै पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विकासका पूर्वसर्तबाट वञ्चित रहनुपरेको छ ।
अन्धविश्वासमै जीवन जिउन विवश हुनुपरेको छ । सिकिस्त बिरामी पर्दा पनि धामीझाँक्री
कै भर पर्नु परेको छ ।
गाउँलेहरू
कर्मशील छन् निस्वार्थी छन् इमानदार छन् । आÇनोसँगै छिमेकीको पनि उनीहरूलाई चासो
रहेको छ। मिलेर बस्छन्;
मिलेर काम गर्छन् एकअर्काको सुखदुःखमा साथ दिन्छन् । गाउँलेहरूलाई
अन्य केही कुरा पनि थाहा छैन । उनीहरूलाई काम गर्ने शैली मात्र थाहा छ । भकारो
सोहोर्ने, अनौ समात्ने, कोदालो
अर्जाप्ने जस्ता कुरा थाहा छ । बाली लगाउने र भि’र्याउने समय थाहा छ । यस्ता
कार्यहरूलाई चुनाव र विभिन्न उत्सवले पनि छेक्न सक्दैन ।
नेपालका
पत्रपत्रिकाहरू विदेशका र सहरका मात्र खबर छाप्ने गर्छन् । ग्रामीण क्षेत्रका
समाचारलाई प्राथमिकता दिँदैनन् । कवि सम्पादकलाई सम्बोधन गर्दै यस्ता खबरहरू
गाउँलेका लागि दन्त्यकथा अर्थात् एकादेशको कथा जस्तै हो, जसको कुनै महत्व छैन । चुनावी घोषणापत्र सिँगान पुछ्ने कागजभन्दा बढी
कामयाब गाउँलेहरूका लागि नहुने तर्क कविको रहेको छ ।
यसप्रकार
नेपालका ग्रामीण क्षेत्रहरूको वास्तविक चित्र उतार्दै कविले नेपालको पहिचानका
रूपमा रहेको ग्रामीण क्षेत्रहरूको विकास नभएसम्म देशको उन्नति नहुने राष्ट्रिय
चेतनाको भाव कवितामा अभिव्यक्त गरेका छन् । कवितामा कविले सम्पादकलाई पनि
पत्रकारिता गर्ने भए ग्रामीण क्षेत्रका खबरहरू प्राथमिकताका साथ छाप्न र ग्रामीण
भेगका समस्या उजागर गर्न आग्रह गरेका छन् । राजनीतिक दलले ग्रामीण भेगका समस्यालाई
समेटी घोषणापत्र बनाई कार्यान्वयन गर्नुपर्ने कुरामा समेत कविले जोड दिएका छन् ।